BP भनेको के हो ?
१. BP भनेको के हो ?
२. BP कसरी धेरै हुन्छ ?
३. BP को माथिको र तलको अंकमा के फरक छ? कति हुनु पर्छ?
४. मेरो उक्तरक्तचाप (धेरै ब्लड प्रेसर) छ तर औषधि खान डर लाग्छ l मलाई खासै केहि समस्या छैन l अहिले औषधि नखाँदा हुन्न?
५. उक्तरक्तचाप (धेरै BP) ले शरीरमा के असर गर्छ?
६. BP कस कसलाई वा कस्तो अवस्थामा धेरै हुन सक्छ?
७. औषधिबिना BP घटाउने उपाए के हुन् ?
८. औषधि खान सुरु गरेपछि छाड्न मिल्दैन रे ! १-२ दिन औषधि खान बिर्सियो भने Paralysis हुन्छ रे ! के यो साँचो हो?
९. मलाई डाक्टरले दुई किसिमको BP को औषधि दिनुभो l एउटा समस्याको लागि किन दुईथरि औषधि दिएका हुन् मैले कुरो बुझिन l
१०. मैले lisinopril भन्ने औषधि खान्छु l यसले कसरी काम गर्छ ?
११. के धेरै bp को कारण मानिसमा रिस उठ्ने बानी हुन्छ ?
----------------------------
@Talk2Kalyan
----------------------------
१. BP भनेको के हो ?
-- मुटुले रगत पम्प गरेर धमनी (रगतको नसा) मा फ्याक्दा उक्त force (बल) ले नसामा धकेलेर पुर्याएको दबाब (प्रेसर ) र रगतको नलीले गरेको प्रतिरोध (resistance) लाई जोड्दा आउने total प्रेसरलाई ब्लडको प्रेसर अर्थात् bp भनिन्छ l यस अर्थमा BP ज्यादा हुने कारणहरु यस प्रकार निर्भर हुने भए: (एक) मुटुले कतिको छिटो चालमा र कतिको धेरै रगत रगत नलीमा फ्याक्छ, (दुई) रगत नली कतिको कडा वा मुलायम/लचिलो छ, (तीन) शरीरमा/रक्तनलीमा रगत, पानी लगाएत अन्य तरल पदार्थ कति छ l
२. BP कसरी धेरै हुन्छ ?
-- बुझ्नको लागि एकपल्ट मुटुलाई घरआँगन वा खेतबारीको पानीको पम्प र धमनी ( रगत नली) लाई बिभिन्न तरकारीको ड्याङ्ग वा स-साना बोट बिरुवासम्म जाने पातलो प्लास्टिकको पाइपसंग दाजौं जुन पाइप मुलायम/लचिलो छ l यदि उक्त पानीको पम्प कुनै कारणबश छिटो/तेज चल्न थाल्यो र अत्याधिक पानी पम्प गर्न थाल्यो भने पानीको प्रेसर पाइपमा बढ्छ l यो समस्या दिनहुँ हुँदै गयो भने पाइप फुट्न पनि सक्छ l मानौं पम्प ठिकै चालले चलेको छ तर पाइपको आफ्नै समस्या जस्तै: भित्र केहि कुरा अड्किएर वा बर्षौं सम्मको प्रयोगले पाइपको भित्रि भागमा लेदो जमेर वा पाइपको राम्रो quality नभएकाले भित्रको भाग सम्मो नभएको आदि कारणले भित्रि भाग पुरा खुल्दैन जसले गर्दा पाइपमा पानी सररर बग्दैन र पानी पिच्कारीको जस्तो तेज हुँदै आउँछ l थोरै आएपनि प्रेसरका साथ आउँछ l यसरी नै जब हाम्रो मुटु छिटो चल्न थाल्छ वा बिभिन्न कारणले रगत नली कडा बन्न जान्छ तब धेरै bp हुन्छ l धेरै bp लाई मेडिकल भाषामा Hypertension भनिन्छ l
३. BP को माथिको र तलको अंकमा के फरक छ? कति हुनु पर्छ?
-- सामान्यतय १८ बर्ष माथिका स्वस्थ व्यक्तिको BP १२०/८० जति हुनु पर्छ l माथिको अंक १२० भनेको मुटुले रगत पम्प गरेको बखतमा फ्याकिएको रगतले नलीमा धकेलोको प्रेसर हो जसलाई systolic BP भनिन्छ l तलको ८० चाहिं मुटुले रगत पम्प नगरेको बेलामा रगत नलीमा रगतले धकेल्दा भएको रगतको आफ्नै प्रेसर हो जसलाई diastolic BP भनिन्छ l BP लाई यसरी पनि बर्गीकरण गर्न सकिन्छ l
साधारण (normal = राम्रो): १२०/८० भन्दा कम
पुर्वरक्तचाप: १२०/८० देखि १३९ /८९ सम्म
रक्तचापको पहिलो तह : १४०/९० देखि १५९/९९ सम्म
रक्तचापको दोश्रो तह :१६०/१०० भन्दा धेरै
४. मेरो उक्तरक्तचाप ( धेरै ब्लड प्रेसर) छ तर औषधि खान डर लाग्छ l मलाई खासै केहि समस्या छैन l अहिले औषधि नखाँदा हुन्न?
-- माथिको #३ को उत्तरमा ध्यान दिनुहोस् l यदि तपाईंको रक्तचाप (ब्लड प्रेसर) पुर्वरक्तचाप भित्र पर्छ र शरीरमा कुनै पनि किसिमको समस्या आई परेको छैन भने नुन निकै कम खाने, चुरोट पिउन बन्द गर्ने, शरीरक व्यायाम गर्ने, योगा आदि गरेर रक्तचाप (ब्लड प्रेसर) घटाउँदा हुन्छ l तर बेला बेलामा bp चेक गर्दै रहनु पर्छ l
५. उक्तरक्तचाप ( धेरै BP) ले शरीरमा के असर गर्छ?
-- धेरै BP खासगरी (माथिको #३ को उत्तरमा भनिएको जस्तो) पहिलो तह र दोस्रो तहको BP धेरै समय (हप्ता-महिना-साल) सम्म भयो र समयमा उपचार गरिएन भने मस्तिष्कघात , paralysis (परालसिस), हृदयघात, kidney (किड्नी) failure, आँखाको दृष्टिमा समस्या, स्मरण शक्तिमा समस्या, यौनमा समस्या आदि हुने सम्भबना हुन्छ l
६. BP कस कसलाई वा कस्तो अवस्थामा धेरै हुन सक्छ?
-- उमेर बढ्दै जाँदा रक्तनलीको मुलायमपना/लचिलोपना कम हुँदै जाँदा सबै जसोलाई बुढेशकालमा हल्का BP बढ्न सक्छ l अन्य उमेरको हकमा बंशानुगतको कारण, शरीरको तौल बढ्दा, चुरोट पिउँदा, रगतमा cholesterol को मात्रा बढ्दा, शारीरिक ब्यायेम कम हुँदा, मधुमेह (diabetes) हुँदा, सुत्दा घुर्ने समस्या र सुत्दा स्वासप्रस्वासमा समस्या हुँदा, शरीरमा बिभिन्न हर्मन बढ्दा, दैनिकी नुनको मात्रा धेरै खाँदा, kidney (किड्नीमा समस्या) हुँदा, मनमा तनाब वा मानसिक समस्या हुँदा आदि l
७. औषधिबिना BP घटाउने उपाए के हुन् ?
-- माथिको #६ मा लेखिएको समस्याहरु समाधान गर्न मिल्ने जति समाधान गर्नु पर्छ पहिले l
--नुनको मात्रा कम गर्ने: ३.८ ग्राम प्रति दिन BP को समस्या नभएकोलाई र १.५ ग्राम प्रति दिन BP को समस्या भएकोलाई l दिनको १.५ ग्राम भनेको यदि बिहान बेलुकी खाने तरकारी अचारमा नुनको स्वाद आएको छ भने त्यो धेरै भैसक्यो l नुन बरु पकाई सकेपछि खाने बेलामा थोरै माथिबाट छर्किएर खाने बानी बसाल्नुस् l स्वाद चाहिने जिब्रोलाई मात्र हो l हल्का पिरो र अन्य मरमसला भयो भने नुन कम खान सकिन्छ l
-- शरीरको तौल घटाउने, दैनिक ब्यायाम गर्ने, योगा गर्ने, मनको तनाब घटाउने उपाय खोज्ने, चुरोट बन्द गर्ने आदि गर्नु पर्छ l
-- फलफुल र तरकारी धेरै खाने; मधुमेह (diabetes) ले खाने जस्तै खाना खानु पर्छ l
८. औषधि खान सुरु गरेपछि छाड्न मिल्दैन रे ! १-२ दिन औषधि खान बिर्सियो भने Paralysis हुन्छ रे ! के यो साँचो हो?
-- यदि कुनै रोग वा समस्याको कारण BP धेरै भएको हो भने उक्त समस्या हल गर्ने बित्तिकै वा तपाईंले माथि #७ मा भनेको कुराहरु गर्नुभो र BP घटाउनु भो भने डाक्टरको प्रत्यक्ष निगरानीमा औषधि कम गर्दै गएर रोक्न सकिन्छ l तर करिब ८०-९० % मानिसको BP धेरै हुनुको कारण थाह हुँदैन l बंशाणुगत वा दिर्घकालिन रगतनलीको समस्या, दिर्घकालिन मुटुको समस्याको कारणले धेरै BP भएको भए जिन्दगिभर औषधि खानु बुद्धिमानी हुनेछ l नत्र माथि #५ मा भनेको जस्तो समस्या आइपर्न सक्छ l
-- बिर्सिएर १-२ दिन औषधि नखादैमा (माथि #३ मा भनिएको) रक्तचापको पहिलो तह (stage I): १४०/९० देखि १६०/१०० भन्दा कम bp भएको र आजसम्म कुनै शारीरिक समस्या नभएकोलाई खासै केहि हुँदैन l धेरै थोरैलाई BP बढेर दृष्टिमा समस्या, भ्रमित हुने (confused), टाउको दुख्ने, रिंगटा लाग्ने हुन सक्छ तर औषधि खाने बित्तिकै समस्याको हल हुन्छ l छोटकरीमा: यदि तपाईंले औषधि सुरु नगर्नु भएको कारण खाएपछि कहिल्यै छोड्न मिदैन भन्ने डरले वा औषधि १-२ दिन छोड्दा वा बिर्संदा paralysis हुने वा अन्य समस्या आउने डरले नखानु भएको हो भने त्यस्तो डर त्यागी दिनुहोस l ति बजारको हल्ला मात्र हुन् l जति समय औषधि नखाई बस्नु हुन्छ अनि रोग बल्जाउँदै जानुहुन्छ पछि गएर त्यतिनै तपाईंको रोगको उपचार गर्न गार्हो हुँदै जान्छ l
९. मलाई डाक्टरले दुई किसिमको BP को औषधि दिनुभो l एउटा समस्याको लागि किन दुईथरि औषधि दिएका हुन् मैले कुरो बुझिन l
-- BP का औषधिहरु करिब १६ प्रकारसम्म हुने गर्छन् l तर तिनले काम गर्ने तरिका (माथिको #१ मा लेखेको BP ज्यादा हुने मुख्य तीन कारणमा ध्यान दिनुस) प्राय तीन किसिमको हुन्छ l
#पहिलो किसिमका औषधिले शरीरको रक्तनलीहरुमा पानीको मात्रा कम गर्ने काम गर्छ (याद गर्नुस्: रगतमा ९०% जति पानी हुन्छ) l
जस्तै: Hydrochlorothiazide (HCTZ) (यो नाम औषधिको प्याकेटमा सानो अक्षरले लेखेको हुन्छ l)
#दोस्रो किसिमका औषधिले मुलायम/लचिलो कम भएका र कडा भएका रक्तनलीलाई खुलाउने काम गर्छ l जस्तै Amlodipine
#तेस्रो किसिमका औषधिले मुटुको धड्कन कम गर्ने र अनावास्येक रुपमा तेजका साथ रगत पम्प गरिरहेको मुटुलाई कम गरिदिन्छ l जस्तै Atenolol, Propranolol, Metoprolol (औषधिको प्याकेटमा सानो अक्षरमा लेखेको औषधिको नाम ध्यान दिनुहोस)
-- यी माथिका तीन कुरामा ध्यान दिइन्छ धेरै bp को उपचार गर्ने बेलामा l पहिलो प्रकारको औषधिले मात्र काम गरेन भने दोश्रो प्रकारको पनि संगै दिइन्छ तर तीन भन्दा धेरै प्रकारका खाने (चक्की/क्याप्सुल) औषधि एकै पटक दिइदैन l
१०. मैले lisinopril भन्ने औषधि खान्छु l यसले कसरी काम गर्छ ?
-- यस औषधिले मुख्य तीन किसिमले काम गर्छ: (पहिलो) शरीरमा/रगत नलीमा पानी जम्मा हुन नदिने (दोस्रो) रगत नली खुम्चिन नदिने (तेस्रो) शरीरमा हुने प्राकृतिक तत्व जसले रगत नली फुकाएर bp आँफै कम गर्छ त्यस्तो तत्व नास हुनबाट जोगाउँछ वा धेरै उत्पादन गरिदिन्छ l
११. के धेरै bp को कारण मानिसमा रिस उठ्ने बानी हुन्छ ?
-- हुँदैन l बरु रिसाई रहने, तनाबमा हुने, चिन्ता लिने, सानो कुरामा आत्तिने आदि समस्याले केहि समयको लागि bp बढाई दिन्छ l धेरै bp भएको बेलामा केहि समय हल्का छटपट हुने, धैर्य गर्न नसक्ने, अलि राम्रो संग सोंचेर काम गर्न नसक्ने भने हुन सक्छ l
------------------------
साबधान: तपाईंको आफ्नै डाक्टरको सल्लाह बिना कुनै पनि खाई राखेको औषधि बन्द नगर्नुहोस l यदि आँफु खुसि औषधि बन्द गर्दा वा परिबर्तन गर्दा रक्तचाप बढेर ज्यानै समेत जाने सम्भावना रहन्छ l कुनै किसिमको हानि भएमा म जिम्मेबार हुने छैनl
@Talk2Kalyan
------------------------
Comments
Post a Comment