अन्सबन्डा सम्बन्धी प्रश्न उत्तर
अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न: हामी पाँच दाजुभाई दुई दिदीबहिनी तथा आमाबुवा छौ। सबै परिवार सगोलमैं छौं। दिदीबहिनीको विवाह भई सकेको छ। दुई दाजुभाई बाहिर छन्। दिदीबहिनीहरु आफ्नो लोग्नेको घरमा छन्। हामी सबै परिवार सहमतिले अंशबन्डा गर्न चाहिरहेका छौं। सहमतिले अंशबन्डा हुन्छ कि हुन्न ? सगोलको सम्पत्तिमा दिदीबहिनीको अंश लाग्छ कि लाग्दैन ? हुन्छ भने कुन अड्डामा गर्न सकिन्छ? बाहिर गएका दुई दाजुभाइको अनुपस्थितिमा अंशबन्डा गर्न सकिन्छ कि सकिन्न ? साथै सगोलको केही सम्पत्ति एकजना दाजुको नाममा छ। उनको नाममा भएकोले त्यो सम्पत्तिमा अरू अंशियारको हक लाग्दैन भन्ने उनी दाबी गरिरहेका छन्। के सगोलको सम्पत्ति जसको नाममा हुन्छ त्यसैको मात्र हक लाग्छ ?
–रिखी वीरगंज
उत्तर: रिखीजी अंशबन्डा गर्न सबैभन्दा प्रमुख आधार अंशियारहरूको सहमति हो। अंशियारहरू आपसममा के कति अंश लिनेदिने हो सो कुराको राय–सल्लाह गरी घरसारमा सहमति गरी सोही बेहोराका अंशबन्डाको कागज लेखाई सम्बन्धित अड्डामा गई पारित गराएमा सहमतिले अंशबन्डा गर्न सकिन्छ। तपाईं सबै परिवार सहमतिले अंशबन्डा गर्न चाहिरहनुभएको छ भने हुन्छ। लिखितरूपले अंशबन्डा गर्नलाईं दुईवटा निकाय प्रख्यात छ। एउटा सम्बन्धित मालपोत कार्यालय अर्को जिल्ला अदालत। मालपोत कार्यालयमा अंशबन्डाको लेखत लेखाई पारित गराउनुपर्छ भने अदालतमा मुद्दा नै खडा गरी मिलापत्र गर्नुपर्छ र सो मिलापत्र अनुसार सम्पत्ति मालपोत कार्यालयबाट दाखा दर्ता गराउनुपर्छ। सहमतिले अंशबन्डा गर्न सबै अंशियारको सहमति मंन्जुरी नभइहुँदैन। सहमति मंन्जुरी दिन अंशबन्डा हुँदाका बखत सम्बन्धित अड्डामा उपपिस्थत भई सबै अंशियारले सहीछाप गर्नैपर्छ। कोही अंशियार उपस्थित हुन सक्ने अवस्था छैन भने उसले आफ्नो मन्जुरीनामा अरूलाई दिएर गराउन आफ्नो हकमा सहीछाप गराउन सक्छ। मन्जुरीनामा पाउनेले लेखतमा सही छाप गर्दा मन्जुरीनामा दिनेकै सहमति मन्जुरी कानुनत: स्थापित हुन्छ तर उनुपस्थित रहनेले मन्जुरीनामाको लेखत लेखाई सहीछाप गरी जानुपर्छ। मन्जुरीनामाको लेखत छैन भने अंशियारको अनुपस्थितिमा सहमति मन्जुरीले अंशबन्डा हुन सक्दैन। तपाईलें दिदीबहिनीको अंशको कुरा गर्दा दिदी बहिनीको विवाह भइसकेको उल्लेख गर्नुभएको छ। विवाहिता छोरीलाई अंश दिने कानुनी प्रावधान छैन। अविवाहिता दिदीबहिनी छन् भने सगोलको सम्पत्ति अंश लाग्छ। विवाह भइसकेका दिदीबहिनीहरू छन् भने उनीहरूको अंश कानुनत: लाग्दैन। सगोल सम्पत्ति कुनै एउटा अंशियारको नाममा दर्ता हुँदैमा अर्को अंशियारको अंश नलाग्ने होइन। कुनै दाजुभाईको नाममा सगोलको सम्पत्ति दर्ता छ भने त्यसमा सबै सगोलको अशियारको अंशबन्डाको महल र प्रमाण ऐनअनुसार लाग्छ। तर उक्त सम्पत्ति सगोलको भएको पुष्टि हुनुपर्छ। अंशियारको नाममा निजी आर्जनको सम्पत्ति छ भने त्यसमा अंश नलाग्न पनि सक्छ।
प्रश्न: कस्तो कसुरलाई बैंकिङ कसुर मानिन्छ ? बैकिङ कसुर कसैले गरेको छ भने उपचार निम्ति के गर्नुपर्छ ?
– एक जना बंैक कर्मचारी, वीरगंज
उत्तर: बैकिङ कसुरको सम्बन्धमा बंैकिङ कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४ व्यवस्था गरेको देखिन्छ। उक्त कानुनअनुसार
नक्कली कागजात पेश गरी खाता खोल्न वा जानीजानी खाता खोलिदिन, कानुन बमोजिमबाहेक काल्पनिक वा अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्न वा खाता खोलिदिन,आफूले काटेको चेक खाम्ने रकम आफ्नो खातामा नभएको जानीजानी चेक काटी भुक्तानी लिन वा दिन,कसैले अनधिकृतरूपमा कुनै तरिकाले झुक्याई वा आफ्नो हो भनी विश्वास दिलाई अन्य
व्यक्तिको चेक, चेकबुक वा खाता विवरण माग गर्न वा प्राप्त गरेमा, कसैले बैक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गरे गराएमा, बैकिङ, स्रोत–साधन र सम्पत्तिको दुरुपयोग गरे गराएमा, वित्तीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिए दिएमा, अनधिकृतरूपमा कर्जा लिए वा दिएमा, अनधिकृतरूपमा रकम निकालेमा वा भुक्तानी दिएमा ऋणीको चालू
परियोजना नोक्सान हुने गरी ऋण वा सुविधा रोक्का गरेमा तथा कागजात वा खाताबही सच्याई किर्ते वा जालसाजी गरी हानिनोक्सानी पुर्याएलगायतका कसुरहरू बैकिङ कसुर अन्तर्गत पर्ने कानुनले व्यवस्था गरेको छ। यस्ता कसुर कसैले गरेको छ भने पीडित पक्षले कसुरबारे थाहा पाएको मितिले एक वर्षभित्र उपचारको निम्ति जाहेरी दिन सक्नेछ। यस्ता कसुरको मुद्दाको सुनवाइ अदालतमा हुन्छ।
Comments
Post a Comment